Wednesday, October 27, 2010
चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं : राष्ट्रपति
काठमाडौं, कार्तिक १० - राष्ट्रपति रामवरण यादवले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्याएका छन् ।
चीन भ्रमणमा रहेका राष्ट्रपति यादवले बुधबार तिब्बत जनसरकार प्रमुख पद्मा कोलिङसँगको भेटमा चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने दृढता व्यक्त गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
नेपालमा संविधान लेखन तथा शान्ति प्रक्रिया जारी रहेको बताउँदै राष्ट्रपति डा यादवले भने, 'द्वन्द्व व्यवस्थापनको क्रममा रहेको नेपाललाई चीन एवम् तिब्बतबाट सहयोग प्राप्त हुने विश्वास छ ।'
तिब्बत जनसरकार प्रमुख पद्माले एक चीन नीतिलाई नेपालले उच्च प्राथमिकता दिँदै आएकाले तिब्बत र चीनविरुद्ध कुनै पनि गतिविधि नेपालमा नहुने विश्वास व्यक्त गरे ।
राष्ट्रपति डा यादव उनको सम्मानमा तिब्बतका जनसरकार प्रमुखले आयोजना गरेको रात्रिभोजमा पनि सहभागी भए । राष्ट्रपतिसँगै उनकी सुपुत्री अनिता, पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरतसिंह भण्डारीलगायत भ्रमणदलमा सहभागी प्रतिनिधि उपस्थित थिए ।
यसैबीच बुधबार नै राष्ट्रपति तिब्बतस्थित धार्मिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वको पोताला दरबारको अवलोकन भ्रमण गरेका छन् । युनेस्कोले सन् १९९४ मा यो दरबारलाई विश्व सम्पदा सूचीमा राखेको थियो ।
करिब एक हजार ३०० वर्षअघि नेपालको छोरी भृकुटीकी पति स्रङचङ्गम्पोले सो दरबार निर्माण गरेका हुन् । ढुङ्गाको चट्टानजस्तै कलात्मक शैलीमा निर्माण गरिएको सो १२ तले सो दरबारमा एक हजार कोठा छन् ।
दरबारका विभिन्न कोठमा पाँचौँदेखि हालसम्मका दलाइ लामा, विभिन्न धार्मिक गुरु, स्रङ्गचङ्गगम्पो, उनकी पत्नी भृकुटी र अर्की रानी वेनचेङको मूर्ति सजिएका छन् ।
भृकुटीको प्रतिमा सजाइएको कोठा विशेष दिन बुधबार खोलिएको हो । दरबारभित्र पाँचौँ दलाइ लामा चाम्लिङ क्यान्चीको तीन हजार ७२१ केजीको विशाल मूर्ति राखिएको छ ।
यस्तै राष्ट्रपति डा यादवले चोखाङ मन्दिरको भ्रमण गरी मन्दिरका विषयमा विभिन्न जानकारी लिए । सातौँ शताब्दीको मध्यतिर स्थापित सो मन्दिर स्रङ्गचङ्गम्पोका दुई रानी चेङ्ग र भृकुटीको नाममा निर्माण गरिएको हो ।
बौद्ध धर्माबलम्बीका लागि प्रसिद्ध सो मन्दिरको मुख्यद्वार भृकुटीको माइतीघरतर्फ फर्केको छ । आकर्षक एवम् कलात्मक शैलीमा निर्माण गरिएको सो मन्दिरमा बुद्धको मूर्ति सजाउनुका साथै नेपाली भाषाबाट कुँदिएका अक्षर ठाउँठाउँमा देख्न सकिन्छ ।
सो अवसरमा राष्ट्रपति डा यादवले स्थानीय भारबोरस्थित नेपाली बजारको करिब २० मिनेट स्थलगत भ्रमण गरी विविध विषयमा जानकारी लिएको राससको समाचारमा लेखिएको छ ।
डा यादवले तिब्बतको नयाँ विश्वविद्यालयको पनि बुधबार अवलोकन भ्रमण गरेका छन् । तिब्बत स्वसासित क्षेत्रको सबैभन्दा ठूलो र गुणस्तरीय एवम् अत्याधुनिक साधन सम्पन्न सो विश्वविद्यालयमा एक हजार ७०० शिक्षक तथा कर्मचारी कार्यरत छन् ।
राष्ट्रपति डा यादव तिब्बतको दुई दिने भ्रमण सम्पन्न गरी बुधबार नै सियानतर्फ प्रस्थान गरेका छन् । साङ्घाई एक्स्पो-२०१० समापन समारोहमा भागलिने सिलसिलामा सातदिने मैत्रीपूर्ण सदभावना भ्रमणका क्रममा राष्ट्रपति मङ्गलबार चीन पुगेका हुन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment