Saturday, December 25, 2010

बेलायतस्थित नेपाली दूतावासका कर्मचारीमाथि श्रम शोषण

लन्डन, पुस १० - सन् १९३४ मा विदेशमा स्थापित पहिलो कुटनीतिक नियोग । त्यो माथि लन्डनको मुटु केन्जिङ्टन प्यालेस् गार्डेनको क्राउन प्रोपर्टीमा अवस्थित सानदार भवन । झट्ट हेर्दा जनमानसलाई लाग्न सक्छ, नेपाली राजदूतावासका कर्मचारीको त दिनचर्या नै बेग्लै हुँदो हो । तिनले अभाव चिनेका छैनन् होला । इज्जत र सम्मानको जिन्दगी बाँच्दा हुन् उनीहरु ।तर विडम्बना, त्यही दूतावासमा कार्यरत स्थानीय कर्मचारीहरुको वास्तविकता भने ज्यादै टिठ लाग्दो छ । तिनको पीडा सुन्दा जो कसैको मन कुंडिन्छ । न तिनलाई इज्जत छ, जीवन निर्वाह नै पुग्ने गरी पारिश्रमिक । बाहिर काम गर्ने सामान्य मजदुरको जति पनि छैन् उनीहरुले थाप्ने मासिक पारिश्रमिक ।
'भन्दा दूतावास कर्मचारी तर, यहाँको तलवले त बाँच्न पनि पुग्दैन' एक कर्मचारीको गुनासो छ, 'न अन्यत्र काम गर्न मिल्छ, न सन्तोषजनक कमाइ
छ । हामी त झन् शोषित पो भएका छौं ।'

लन्डनस्थित नेपाली दूतावासमा हाल दुई मेड, दुई चालक, ह्याण्डी म्यान्, फुटम्यान, भिसा सेक्रेटरी र अफिस सेक्रेटरी गरी ८ जना स्थानीय कर्मचारी कार्यरत छन् । दूतावास श्रोतका अनुसार, मेडलाई मासिक तलव करिब ३ सय ५० पाउण्डमात्र दिइन्छ भने ह्यान्डीम्यान र फुटम्यानको ५ सय ५० पाउण्ड हाराहारीमा पाउँछन् । सेक्रेटरीहरुको ८ सय २० र चालकले थाप्ने तलव मासिक ८ सय ५० पाउण्ड छ ।

सोमबार देखि शुक्रवारसम्म दिनको ८ घण्टाका दरले सातामा ४० घण्टा काम गर्ने उनीहरुलाई दिइने त्यो तलव बेलायतमा 'नेशनल मिनिमम वेजेज् एक्ट' अनुसार सार्‍है न्यून हो । सो ऐनले २१ वर्षमाथिका कामदारलाई प्रति घण्टा न्यूनतम ज्याला ५ पाउण्ड ९३ पेन्स् तोकेको छ तर, यी कर्मचारीको ज्याला प्रतिघण्टा २ देखि ३ पाउण्ड भन्दा बढि छैन ।

विश्वका अन्य मिसनमा आकर्षक तलव रहेपनि आफूहरुको ज्यादै थोरै पाएको कर्मचारीको गुनासो छ । सन् २००८ मार्चमा परराष्ट्रले बेलायतको महंगीलाई ध्यानमा राखेर कर्मचारीको तलव बढाएर पठाएपनि दूतावासका कुटनीतिज्ञहरुले बीचमै खाइदिएको अर्का एक कर्मचारीले आरोप लगाए । 'हामीलाई त डिप्लोम्याट्सहरु युकेको आवासीय अधिकार पाउन काम गरेका त हौ नि भने जस्तो व्यवहार गर्छन्' अर्का एक कर्मचारीको दुःखेसो छ । स्थानीय कर्मचारी भनेपछि 'डिप्लोम्याट्स' हरुले हेयको दृष्टिकोणले समेत हेर्ने गरेको ति कर्मचारीले बताए ।
राजदूत डा. सुरेशचन्द्र चालिसे कर्मचारीको तलव नेपाल सरकारले नै निर्धारण गरेर पठाउने गरेको बताउँछन् । 'विश्वभरका करिब ३० मिसनमा कार्यरत कर्मचारी (डिप्लोम्याट्स, स्थानीय दुवै) को तलव निर्धारण नेपाल सरकारले गर्छ र ति कर्मचारीहरु नेपाल सरकारकै अन्डरमा हुन्छन्' राजदूत चालिसेको भनाई छ । विदेशस्थित मिसनहरु स्वाधिन भएकाले त्यस देशको कानुन भन्दा नेपाल सरकारकै अन्डरमा रहेर काम गर्नुपर्ने चालिसेले बताए ।

बेलायतको राष्ट्रिय न्यूनतम वेतन कानुन १९९८ र राष्ट्रिय न्यूनतम वेतन नियमावली १९९९ मा प्रोटोकल डाइरेक्टरेटले पनि ऐनमा तोकिएको न्यूनतम तलवका शर्त पालना गर्नुपर्ने स्पष्ट उल्लेख छ । अध्यागमन ऐन १९९९ को दफा ६ ले कुटनैतिक नियोगमा काम गर्ने स्थानीय कर्मचारीको अध्यागमन स्थिति सम्बन्धमा व्यवस्था गरेको सोलिसिटर राजु थापाले बताए ।
'कुटनैतिक कर्मचारीको नियुक्ति आफ्नो देशबाट भएको अवस्थामा उसले अध्यागमन नियन्त्रणबाट छुट पाएपनि स्थानीय कर्मचारीको हकमा भने अध्यागमन नियमबाट निर्देशित भए बमोजिम अधिनमा रहेर काम गर्न जरुरी छ' थापाको तर्क छ ।
बेलायतमा सामान्यतय कामदारहरुले आफूमाथि श्रम शोषण भएमा त्यस उपर इम्प्लोयमेन्ट टि्रव्युनल, रेभिन्यु एण्ड कस्टम वा डिपार्टमेन्ट अफ वर्क एण्ड पेन्सन, पे एण्ड वर्क राइट्स हेल्पलाइनमा उजुरी गर्न सक्छन् । तर, दूतावासका स्थानीय कर्मचारी भिसा थप्नुपर्ने वाध्यताले पनि दूतावास विरुद्ध केही बोल्न नसकिरहेको स्थिति छ ।  

घुस खाएको आरोप लागेका प्रमुख जिल्ला अधिकारीले रुँदै जिल्ला छाडे

सिरहा, पुस १० - घुस खाएको आरोप लागेका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवलाई गृह मन्त्रालयले क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गरिएको छ । उनले शुक्रबार रुदै जिल्ला छोडेका छन् ।
उनले यसअघि नै हातहतियार तथा खरखजाना मुद्दाका तीन जना अभियुक्तलाई छोड्न एक लाख रुपैया घुस लिएको र पछि फिर्तासमेत गरेको सम्बन्धमा गृह मन्त्रालयबाट लिखित चेतावनी पाइसकेका थिए ।
स्थानीय सञ्चारकर्मीले प्रजिअ यादवसंग सोध्दा आइतवार मात्रै जाने र सोही दिन भेट्ने भनेपनि उनी दिउँसो सुटुक्क जिल्ला छाडी धनकुट्टा रबाना भएका थिए । केही सञ्चारकर्मीले अचानक थाना चोकमा भेट्दा प्रजिअ यादव आँखाबाट बगिरहेको आशु पुच्छदै केही नबोलिकनै हात मिलाएर गएका थिए ।

उनलाई सशस्त्र प्रहरी उपरीक्षक रबिन्द्र ठाकुर र प्रहरी नायब उपरीक्षक नरेन्द्र उप्रेतीले अगाडी पछाडी स्कटिङ्ग गर्दै विदाई गरेका थिए । उनकै सल्लाहमा आइतवार औपचारिक रुपमा विदाई समारोह गरिने कर्मचारीहरुले तयारी गरेपनि उनले कसैलाई थाहा नै नदिई जिल्ला छाडेका हुन् ।

हातहतियार खरखजाना मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका चन्द्रलालपुरका किशोरी यादव, शम्भु पण्डित र कामेश्वर महतोसंग एक लाख रुपैया घुस लिई प्रजिअ यादवले छोडेको आरोप छ ।
उक्त घटनाको गृह मन्त्रालबाट खटिआएका टोलीले छानविन गरेको थिए । टोलीले प्रजिअ यादव, जिल्ला प्रशासन कार्यालयका नायब्ब सुबा विजुली चौधरी र सिरहा कारागारका प्रमुख कुलबहादुर मिझार तीनै जनाको मिलेमतोमा उनीहरुसंग एक लाख रुपैया घुस लिएको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाएपछि लिखित चेतावनी दिइएको थियो । घुस लिएको प्रमाण आफूहरुसंग भएको भनी किशोरीले भनेपछि उक्त रकम प्रजिअ यादवले कारागार प्रमुख मिझारमार्फत फिर्ता गराएका थिए ।

काजमा जिल्ला प्रशासन कार्यालयमा रहेका नायब सुब्बा चौधरीलाई सडक डिभिजन कार्यालय लहानमा काज फिर्ता र कारागार प्रमुख मिझारलाई इलाका प्रशासन कार्यालय लहानमा सरुवा गरिसकिएको छ ।

सहमति पछिमात्र संसदको अधिवेशन/सत्ता साझेदार दल अनमिनको म्याद नथप्ने पक्षमा

काठमाडौ, पुस १० - सत्ता साझेदार दलहरुले अनमिनको म्याद नथप्न तथा सहमतिपछि मात्र संसदको नियमित अधिवेशन बोलाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । प्रमुख प्रतिपक्षी माओवादीले अनमिनको म्याद थप्नु पर्ने र तत्काल अधिवेशन बोलाउनुपर्ने भनिरहेका बेला सत्ता साझेदार दलहरुले उक्त सुझाव दिएका हुन् ।

प्रधानमन्त्री माधवकुमार नेपालले शनिबार अनमिनको म्याद र नियमित अधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाएका थिए । बैठकमा सहभागी १८ दलले अनमिनको म्याद थप्न नहुने पक्षमा एकमतले सुझाव दिएको चुरे-भार एकता पार्टीका अध्यक्ष केशवप्रसाद मैनालीले ई-कान्तिपुरलाई बताए । दलहरुको सुझावपछि प्रधानमन्त्री नेपालले अनमिनको म्याद थप्न नहुने पक्षमा आफू दृढ रहेको बतएका थिए ।

अनमिनको म्याद थप्ने विषयमा काँग्रेसको दोहरो कुरा आएको विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न आग्रह गरेपछि काँग्रेस सभापति सुशिल कोइरालाले म्याद थप्न नहुने पक्षमा आफूहरु रहेको स्पष्ट पारेका थिए । नेपाली सेनालाई अनुगमनमा नराख्ने गरी अनमिनको म्याद थप्न सकिने काँग्रेसको धारणा चर्चामा आएको थियो । अनमिनको म्याद पुस मसान्तमा सकिंदैछ । संयुक्त राष्ट्रसंघले अनमिनको म्याद अन्तिम पटकलाई थपिएको जनाएको थियो । माओवादीले संविधान निर्माण नभएसम्म अनमिनको म्याद थप्नुपर्ने पक्षमा लविङ सुरु गरेको छ । अनमिनको बहिर्गमनपछि विशेष समितिले लडाकुको रेखदेख लगायतका काम गर्ने विषयमा सत्तासाझेदार दलहरु सहमत छन् ।

लडाकुको समयोजन,पुर्नस्थापना,संविधान निर्माण र सत्ता समिकरण लगायतका विषयमा सहमति भएपछि मात्र संसदको अधिवेशन बोलाउन दलहरुले सुझाव दिएको सभासद् समेत रहेका मैनालीले बताए । उनले भने-'संसदमा कुटाकुट गर्नु भन्दा सहमति पछि अधिवशेन बोलाउन सुझाव सबैले दिएका छौं ।'अधिवेशनको तिथी तोकिएको छैन ।
बैठकमा काँग्रेस नेता रामचन्द्र पौडेललको उम्मेदवारी कायम रहेको र उनलाई समर्थन गर्नुपर्ने विषयमा अधिकांश दलहरु सहमत देखिएका थिए । एमाले महासचिव ईश्वर पोखरेलले पौडेलको उम्मेदवारी फिर्ता नभए आफूहरु उनको विपक्षमा मतदान गर्ने बताएका थिए । एमाले नेता केपी ओलीले प्रतिवाद गर्दै काँग्रेस र एमालेबीच खाडल ल्याउने काम भएको भन्दै त्यसप्रति आपत्ती जनाएका थिए । काँग्रेस र एमालेबीच शनिबार बैठक बस्दैछ।

बैठकमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, नेकपा (एमाले) का नेता केपी ओली, महासचिव ईश्वर पोखरेल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेकपा (माले) का महासचिव सीपी मैनाली, सद्भावना पार्टीका अध्यक्ष तथा आपूर्तिमन्त्री राजेन्द्र महतो, नेकपा (संयुक्त) का महासचिव चन्द्रदेव जोशी, राप्रपाका अध्यक्ष पशुपति शम्शरे राणा, जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, समाजवादी प्रजातान्त्रिक जनता पार्टीका अध्यक्ष तथा कानुनमन्त्री प्रेमबहादुर सिंह, परिवार दलका अध्यक्ष एकनाथ ढकाल, चुरे-भावर एकता पार्टीका अध्यक्ष केशव मैनाली, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का अध्यक्ष श्यामसुन्दर गुप्तालगायतको उपस्थिति थियो ।

रुवेल चौधरी बिरुद्धको रिटमा सोमबार सुनुवाइ हुने

काठमाडौ, पुस १० - गैरकानुनी कार्यमा संलग्न रहेकाले हदैसम्मको कारबाहीको माग गर्दै उप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइ बङ्गलादेशी नागरिक रुवेल चौधरीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ आगामी सोमबार हुने भएको छ ।

राससले जनाए अनुसार समय अभावका कारण चौधरीविरुद्धको मुद्दाको सुनुवाइ शुक्रबार हुन नसकेकाले सोमबारका लागि सारिएको सर्वोच्च अदालतका प्रवक्ता श्रीकान्त पौडेलले बताएका हुन् ।
चौधरी बिरुद्ध सिन्धुपाल्चोकका दइन्द्र बहादुर ठकुरीले बिहीबार उनको गैरकानुनी धन्दाको छानविन गरी कारवाही गराउन तथा उनलाई साथ दिने उच्च तहका राजनीतिक तथा प्रशासनिक अधिकारीहरुलाई कारवाही गराउन माग गर्दै रिटमा दायर गरेका थिए । उनले रिटमा प्रधानमन्त्रीको कार्यालय, उपप्रधान मन्त्री सुजाता कोइराला, गृह मन्त्रालय, प्रहरी महानिरीक्षकको कार्यालय र चौधरीलाई विपक्षी बनाइएको छ ।
रिटमा उनले विभिन्न पत्रपत्रिकामा आएका विवरणहरुलाई प्रमाणको रुपमा पेश गर्दै चौधरी नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय मिसनमा गरेको खरिद घोटलाको प्रमुख व्यक्ति रहेको, नेपाली टेलीकमको कल वाइपास (भीओआइपी) गर्ने कार्यमा संलग्न रहेको, शुक्ष्म मेमोरियल ट्रष्टमा अबैधानिक रुपमा काम गरेकोलगायतका आरोपहरु लगाईएको छ ।

यि कार्यहरुबाट उन्मुक्तिको लागि सासु कोइरालाको प्रभावलाई दुरुपयोग गरेको तथा सुडान काण्डको छानविन नगराउन प्रधानमन्त्री नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दवाव दिएको समेत उल्लेख गरिएको छ ।

Tuesday, November 2, 2010

लडाकुलाई आरोपै-आरोप

रसौली चैनपुर (चितवन), कार्तिक १७ - शान्ति सम्झौता बमोजिम पुर्नस्थापना र समायोजन ढिलाई हुँदा अनेक आरोप लाग्ने गरेको माओवादी लडाकुहरुको गुनासो छ । शिविरबाट हटाइएका अयोग्य लडाकुलाई तालिम दिएको हल्ला फैलिएपछि आरोप खण्डन गरिरहेका छन्, लडाकुहरु ।
समायोजनमा ढिलाइ गर्दा अनेक आरोप खेप्नुपर्ने भएकोले छिटो समाधान खोज्न लडाकुहरुको माग छ । 'प्रमाणिकरणमा नपरेकालाई शिविरको नियन्त्रणमा तालिम दिएको भन्ने कुरा वाहियात हो,' तेस्रो डिभिजनका प्रबक्ता जनक बिष्टले कान्तिपुरसँग भने, 'हामी शान्तिको परिधी नाघेर कुनै क्रियाकलाप गर्देनौं ।' प्रमाणिकरणमा नपरेका लडाकुहरुलाई रोजगारको ब्यबस्था गर्न उनले माग गरे ।
संयुक्त राष्ट्रसंघिय मिसन (अनमिन) को प्रमाणिकरणमा नपरेका लडाकुहरुलाई तालिम दिएको हल्ला निराधार भएको कमाण्डरहरुको दाबी छ । कमाण्डरहरुले अनमिनको प्रमाणिकरणबाट बर्हिगमनपछि हालसम्म कुनै अयोग्य लडाकुलाई शिविर प्रबेश नगरिएको बताएका छन् ।
'हाम्रा प्रमाणिकरणमा नपरेका साथीहरु आ-आफ्नो घरमा फर्किसकेका छन्,' रसौली चैनपुर स्थित सहायक शिविरका सहकमाण्डर रमेशले भने, 'केहि अयोग्य लडाकु बिभिन्न अन्तराष्ट्रिय दातृ संस्थाको सहयोगमा सीपमुलक तालिम लिइरहेका छन् ।'
केहि आफ्नै घरायसी काममा लागेका तथा बाँकी माओवादीमा सक्रिय रहेको उनले बताए । 'अहिले त हाम्रै पुर्नस्थापना र समायोजन मुख्य प्रश्न हो,' उनले भने, 'प्रमाणिकरणमा नपरेकालाई हामीले तालिम दिने वा प्रवेश गराउने कुरै आउँदैन ।'
लडाकु समायोजन हुनेमा आशंका
सरकार माओबादीबीच भएको सम्झौता अनुसार समायोजन प्रक्रिया समयमै हुनेमा लडाकुले आशंका ब्यक्त गरे । दलहरुको निर्णय नै हाम्रा लागि सहि मार्गदर्शक हुने भएकोले समायोजन प्रक्रियालाई आग्रह पुर्वाग्रह रुपमा हेर्न नहुने उनीहरुको धारणा छ । 'समायोजन ढिला गरेर अनेक आरोप लगाई हामीलाई अत्याउने खेल भइरहेको छ,' प्रवक्ता बिष्ट भन्छन्, 'तर हामीले जे जस्ले जस्ता आरोप लगाएपनि डगमगाउने छैनौं ।'
एक बर्ष अघि अनमिनको प्रमाणिकरणमा शक्तिखोरस्थित मुख्य र तीन सहायक शिविरमा ३ हजार ९ सय ५० जना लडाकु रहेका थिए । प्रबक्ता बिष्टका अनुसार,  बिभिन्न कारणले अहिलेसम्म २५ जना लडाकुले शिविर छोडेर गएका छन् । हाल सरकारले रासनपानी, लत्ताकपडा लगायत प्रति लडाकु मासिक ५ हजारका दरले रकम दिंदै आएको छ । 
'हामी अझै पनि अर्ध सरकारी सैन्य हौं,' प्रबक्ता बिष्ट भन्छन्, 'पार्टीको आदेशलाई पनि बेवास्ता गर्न सकिन्न, सरकारको नियम कानुनलाई पनि उलंघन गर्ने कुरै आउँदैन
www.ekantipur.com

Wednesday, October 27, 2010

तस्वीर
  • लमजुङको खुदीस्थित अमर उच्च माध्यमिक विद्यालयमा आयोजित अमर महोत्सवको अवसरमा नृत्य प्रस्तुत गर्दै स्कूले बालबालिका । दश जोड २ मा विज्ञान र स्नातक तह सञ्चालन गर्ने उदेश्यले उक्त विद्यालयमा बुधबारबाट ५ दिने महोत्सव शुरु भएको छ ।

    फोटो: प्रेमकुमारी घले
  • मिस नेपाल सदिक्षा श्रेष्ठ चीनको एक मन्दिरमा प्रार्थना गर्दै । चीनमा आयोजना हुने विश्व सुन्दरी प्रतियोगितामा भाग लिन उनी चीन गएकी हुन् ।

    फोटो: सौजन्य: सदिक्षा श्रेष्ठ/फेस बुक
  • थारु आदिवासीको सामुदायिक संस्था थारु कल्याणकारी सभाको २० औं महाधिवेशनको अवसरमा दाङमा बुधबार प्रस्तुत गरिएको झाँकी । तीन दिने महाधिवेशनमा मुलुकभरका ५ सय थारु प्रतिनिधि सहभागी छन् ।

    फोटो: दुर्गालाल केसी
  • फेवातालको किनारमा बसेर सुर्य अस्ताएको दृश्य हेर्दै पर्यटकहरु ।

    फोटो: नरेन्द्र श्रेष्ठ
  • ललितपुरको खोकनामा बुधबार धानकाट्न खेततर्फ जाँदै एक महिला । समयै धान रोप्न नपाएको कारण यस वर्ष धान काट्नमा ढिलाई भएको छ ।

    फोटो: लक्ष्मीप्रसाद ङाखुसी
  • गायक राजेश पायल राई उदयपुरको गाइघाटमा आयोजित सांगीतिक कार्यक्रममा आफ्ना फ्यानको अनुरोधमा जोसिएर गाउँदै । उनले धरानमा सांस्कृतिक महोत्सव र इटहरीमा पर्यटन महोत्सवमा पनि गीतहरु गाएका थिए ।

    फोटो: प्रदीप मेन्याङ्बो
  • तेह्रथुम सदरमुकाम म्याङलुङ बजार । १७ थुम मध्ये १३ वटा थुमको कर तिर्ने स्थान भएकाले तेह्रथुम भनिएको भनाइ छ ।

    फोटो: प्रतिमा माखिम
  • भारतको अरुणान्चलको रैथाने आदिबासी समुदायको पहिरनमा सजिएर फोटो खिचाउँदै भारतीय कलाकारहरु । नेपालको एउटा कार्यक्रममा भाग लिन आएका उनीहरु कार्यक्रम स्थगित भएपछि ५ दिनदेखि झापाको काँकडभिट्टामा अलपत्र परेका छन् ।

    फोटो: पर्वत पोर्तेल
  • तिहारको संकेत : पाल्पाको लामडाँडामा माला बनाउन पालिएको मखमली र गुर्धौलीको फुल ।

    फोटो: माधव अर्याल
  • मनाङ जिल्लाको ताल प्रवेश बिन्दुमा रहेको यो होर्डिङ बोर्डले हाम्रो प्रशासनको यथास्थितीवादी शैलीलाई सम्झाउँछ । चार बर्षअगाडीसम्म द्वन्द्वको व्यवस्था गरिएको प्रहरी चेकपोष्टको बोर्ड अझै पनि यथावत छ ।

    फोटो: देबेन्द्र भट्टराई

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं : राष्ट्रपति



काठमाडौं, कार्तिक १० - राष्ट्रपति रामवरण यादवले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याएका छन् ।
चीन भ्रमणमा रहेका राष्ट्रपति यादवले बुधबार तिब्बत जनसरकार प्रमुख पद्मा कोलिङसँगको भेटमा चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने दृढता व्यक्त गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
नेपालमा संविधान लेखन तथा शान्ति प्रक्रिया जारी रहेको बताउँदै राष्ट्रपति डा यादवले भने, 'द्वन्द्व  व्यवस्थापनको क्रममा रहेको नेपाललाई चीन एवम् तिब्बतबाट सहयोग प्राप्त हुने विश्वास छ ।'
तिब्बत जनसरकार प्रमुख पद्माले एक चीन नीतिलाई नेपालले उच्च प्राथमिकता दिँदै आएकाले तिब्बत र चीनविरुद्ध कुनै पनि गतिविधि नेपालमा नहुने विश्वास व्यक्त गरे ।

राष्ट्रपति डा यादव उनको सम्मानमा तिब्बतका जनसरकार प्रमुखले आयोजना गरेको रात्रिभोजमा पनि सहभागी भए । राष्ट्रपतिसँगै उनकी सुपुत्री अनिता, पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरतसिंह भण्डारीलगायत भ्रमणदलमा सहभागी प्रतिनिधि उपस्थित थिए ।

यसैबीच बुधबार नै राष्ट्रपति तिब्बतस्थित धार्मिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वको पोताला दरबारको अवलोकन भ्रमण गरेका छन् । युनेस्कोले सन् १९९४ मा यो दरबारलाई विश्व सम्पदा सूचीमा राखेको थियो ।
करिब एक हजार ३०० वर्षअघि नेपालको छोरी भृकुटीकी पति स्रङचङ्गम्पोले सो दरबार निर्माण गरेका  हुन् । ढुङ्गाको चट्टानजस्तै कलात्मक शैलीमा निर्माण गरिएको सो १२ तले सो दरबारमा एक हजार कोठा छन् ।
दरबारका विभिन्न कोठमा पाँचौँदेखि हालसम्मका दलाइ लामा, विभिन्न धार्मिक गुरु, स्रङ्गचङ्गगम्पो, उनकी पत्नी भृकुटी र अर्की रानी वेनचेङको मूर्ति सजिएका छन् ।

भृकुटीको प्रतिमा सजाइएको कोठा विशेष दिन बुधबार खोलिएको हो । दरबारभित्र पाँचौँ दलाइ लामा चाम्लिङ क्यान्चीको तीन हजार ७२१ केजीको विशाल मूर्ति राखिएको छ ।
यस्तै राष्ट्रपति डा यादवले चोखाङ मन्दिरको भ्रमण गरी मन्दिरका विषयमा विभिन्न जानकारी लिए । सातौँ शताब्दीको मध्यतिर स्थापित सो मन्दिर स्रङ्गचङ्गम्पोका दुई रानी  चेङ्ग र भृकुटीको नाममा निर्माण गरिएको हो ।

बौद्ध धर्माबलम्बीका लागि प्रसिद्ध सो मन्दिरको मुख्यद्वार भृकुटीको माइतीघरतर्फ फर्केको छ । आकर्षक एवम् कलात्मक शैलीमा निर्माण गरिएको सो मन्दिरमा बुद्धको मूर्ति सजाउनुका साथै नेपाली भाषाबाट कुँदिएका अक्षर ठाउँठाउँमा देख्न सकिन्छ ।

सो अवसरमा राष्ट्रपति डा यादवले स्थानीय भारबोरस्थित नेपाली बजारको करिब २० मिनेट स्थलगत भ्रमण गरी विविध विषयमा जानकारी लिएको राससको समाचारमा लेखिएको छ ।
डा यादवले तिब्बतको नयाँ विश्वविद्यालयको पनि बुधबार अवलोकन भ्रमण गरेका छन् । तिब्बत स्वसासित क्षेत्रको सबैभन्दा ठूलो र गुणस्तरीय एवम् अत्याधुनिक साधन सम्पन्न सो विश्वविद्यालयमा एक हजार ७०० शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

राष्ट्रपति डा यादव तिब्बतको दुई दिने भ्रमण सम्पन्न गरी बुधबार नै सियानतर्फ प्रस्थान गरेका छन् । साङ्घाई एक्स्पो-२०१० समापन समारोहमा भागलिने सिलसिलामा सातदिने मैत्रीपूर्ण सदभावना भ्रमणका क्रममा राष्ट्रपति मङ्गलबार चीन पुगेका हुन् ।