सिरहा, पुस १० - घुस खाएको आरोप लागेका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवलाई गृह मन्त्रालयले क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गरिएको छ । उनले शुक्रबार रुदै जिल्ला छोडेका छन् ।
उनले यसअघि नै हातहतियार तथा खरखजाना मुद्दाका तीन जना अभियुक्तलाई छोड्न एक लाख रुपैया घुस लिएको र पछि फिर्तासमेत गरेको सम्बन्धमा गृह मन्त्रालयबाट लिखित चेतावनी पाइसकेका थिए ।
स्थानीय सञ्चारकर्मीले प्रजिअ यादवसंग सोध्दा आइतवार मात्रै जाने र सोही दिन भेट्ने भनेपनि उनी दिउँसो सुटुक्क जिल्ला छाडी धनकुट्टा रबाना भएका थिए । केही सञ्चारकर्मीले अचानक थाना चोकमा भेट्दा प्रजिअ यादव आँखाबाट बगिरहेको आशु पुच्छदै केही नबोलिकनै हात मिलाएर गएका थिए ।
उनलाई सशस्त्र प्रहरी उपरीक्षक रबिन्द्र ठाकुर र प्रहरी नायब उपरीक्षक नरेन्द्र उप्रेतीले अगाडी पछाडी स्कटिङ्ग गर्दै विदाई गरेका थिए । उनकै सल्लाहमा आइतवार औपचारिक रुपमा विदाई समारोह गरिने कर्मचारीहरुले तयारी गरेपनि उनले कसैलाई थाहा नै नदिई जिल्ला छाडेका हुन् ।
हातहतियार खरखजाना मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका चन्द्रलालपुरका किशोरी यादव, शम्भु पण्डित र कामेश्वर महतोसंग एक लाख रुपैया घुस लिई प्रजिअ यादवले छोडेको आरोप छ ।
उक्त घटनाको गृह मन्त्रालबाट खटिआएका टोलीले छानविन गरेको थिए । टोलीले प्रजिअ यादव, जिल्ला प्रशासन कार्यालयका नायब्ब सुबा विजुली चौधरी र सिरहा कारागारका प्रमुख कुलबहादुर मिझार तीनै जनाको मिलेमतोमा उनीहरुसंग एक लाख रुपैया घुस लिएको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाएपछि लिखित चेतावनी दिइएको थियो । घुस लिएको प्रमाण आफूहरुसंग भएको भनी किशोरीले भनेपछि उक्त रकम प्रजिअ यादवले कारागार प्रमुख मिझारमार्फत फिर्ता गराएका थिए ।
काजमा जिल्ला प्रशासन कार्यालयमा रहेका नायब सुब्बा चौधरीलाई सडक डिभिजन कार्यालय लहानमा काज फिर्ता र कारागार प्रमुख मिझारलाई इलाका प्रशासन कार्यालय लहानमा सरुवा गरिसकिएको छ ।
No comments:
Post a Comment