काठमाडौ, पुस १० - सत्ता साझेदार दलहरुले अनमिनको म्याद नथप्न तथा सहमतिपछि मात्र संसदको नियमित अधिवेशन बोलाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । प्रमुख प्रतिपक्षी माओवादीले अनमिनको म्याद थप्नु पर्ने र तत्काल अधिवेशन बोलाउनुपर्ने भनिरहेका बेला सत्ता साझेदार दलहरुले उक्त सुझाव दिएका हुन् ।
प्रधानमन्त्री माधवकुमार नेपालले शनिबार अनमिनको म्याद र नियमित अधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाएका थिए । बैठकमा सहभागी १८ दलले अनमिनको म्याद थप्न नहुने पक्षमा एकमतले सुझाव दिएको चुरे-भार एकता पार्टीका अध्यक्ष केशवप्रसाद मैनालीले ई-कान्तिपुरलाई बताए । दलहरुको सुझावपछि प्रधानमन्त्री नेपालले अनमिनको म्याद थप्न नहुने पक्षमा आफू दृढ रहेको बतएका थिए ।
अनमिनको म्याद थप्ने विषयमा काँग्रेसको दोहरो कुरा आएको विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न आग्रह गरेपछि काँग्रेस सभापति सुशिल कोइरालाले म्याद थप्न नहुने पक्षमा आफूहरु रहेको स्पष्ट पारेका थिए । नेपाली सेनालाई अनुगमनमा नराख्ने गरी अनमिनको म्याद थप्न सकिने काँग्रेसको धारणा चर्चामा आएको थियो । अनमिनको म्याद पुस मसान्तमा सकिंदैछ । संयुक्त राष्ट्रसंघले अनमिनको म्याद अन्तिम पटकलाई थपिएको जनाएको थियो । माओवादीले संविधान निर्माण नभएसम्म अनमिनको म्याद थप्नुपर्ने पक्षमा लविङ सुरु गरेको छ । अनमिनको बहिर्गमनपछि विशेष समितिले लडाकुको रेखदेख लगायतका काम गर्ने विषयमा सत्तासाझेदार दलहरु सहमत छन् ।
लडाकुको समयोजन,पुर्नस्थापना,संविधान निर्माण र सत्ता समिकरण लगायतका विषयमा सहमति भएपछि मात्र संसदको अधिवेशन बोलाउन दलहरुले सुझाव दिएको सभासद् समेत रहेका मैनालीले बताए । उनले भने-'संसदमा कुटाकुट गर्नु भन्दा सहमति पछि अधिवशेन बोलाउन सुझाव सबैले दिएका छौं ।'अधिवेशनको तिथी तोकिएको छैन ।
बैठकमा काँग्रेस नेता रामचन्द्र पौडेललको उम्मेदवारी कायम रहेको र उनलाई समर्थन गर्नुपर्ने विषयमा अधिकांश दलहरु सहमत देखिएका थिए । एमाले महासचिव ईश्वर पोखरेलले पौडेलको उम्मेदवारी फिर्ता नभए आफूहरु उनको विपक्षमा मतदान गर्ने बताएका थिए । एमाले नेता केपी ओलीले प्रतिवाद गर्दै काँग्रेस र एमालेबीच खाडल ल्याउने काम भएको भन्दै त्यसप्रति आपत्ती जनाएका थिए । काँग्रेस र एमालेबीच शनिबार बैठक बस्दैछ।
बैठकमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, नेकपा (एमाले) का नेता केपी ओली, महासचिव ईश्वर पोखरेल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेकपा (माले) का महासचिव सीपी मैनाली, सद्भावना पार्टीका अध्यक्ष तथा आपूर्तिमन्त्री राजेन्द्र महतो, नेकपा (संयुक्त) का महासचिव चन्द्रदेव जोशी, राप्रपाका अध्यक्ष पशुपति शम्शरे राणा, जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, समाजवादी प्रजातान्त्रिक जनता पार्टीका अध्यक्ष तथा कानुनमन्त्री प्रेमबहादुर सिंह, परिवार दलका अध्यक्ष एकनाथ ढकाल, चुरे-भावर एकता पार्टीका अध्यक्ष केशव मैनाली, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का अध्यक्ष श्यामसुन्दर गुप्तालगायतको उपस्थिति थियो ।
No comments:
Post a Comment